काठमाडौंको शंकरापुरमा माकल बालेर सुतेका दम्पत्ती मृत फेला

काठमाडौं । काठमाडौंको शंकरापुरमा एक दम्पत्ती मृत फेला परेका छन्। शंकरापुर नगरपालिका–३ स्थित बोजेनीमा बुधबार राती खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत भेटिएका हुन्।

महानगरीय प्रहरी वृत्त वौद्धका अनुसार बिहान ७ बजेसम्म पनि ढोका नखुलेपछि दुई छोराहरु सूर्यबहादुर र सुनिल थिङले ढोका फोडेर हेर्दा बाबुआमा दुबै मृतअवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले सूचना पाएपछि महानगरीय प्रहरी वृत्त वौद्ध र अपराध अनुसन्धान महाशाखाको टाली घटनास्थल पुगेको थियो। वौद्धबाट ३५ किलोमिटर टाढा भएका कारण प्रहरी बिहान १० बजेमात्र थिङ दम्पत्ती मृत भेटिएको घरमा पुगेको थियो।

प्रहरीका अनुसार थिङ दम्पत्तीले राति सुत्नुअघि माकल बालेका पाइएको छ। कोठा न्यानो बनाउनका लागि माटोको भाँडोमा कोइला बालेर छाडेका कारण निस्सास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीसँगै घटनास्थलमा पुगेका डाक्टरले पनि झ्यालढोका बन्द गरेर कोइला बालेका कारण अक्सिजनको मात्रा कम भई निसास्सिएर मृत्यु भएको हुनसक्ने बताएको छ। दम्पत्ति सुतेको कोठामा कोइला बाल्न प्रयोग हुने माकल पनि भेटिएको छ।

शरीरको अन्य भागमा चोटपटक नदेखिएको कारण पनि उनीहरुको निसास्सिएरै मृत्यु भएको प्रहरीको अनुमान छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने मृतक दम्पत्तीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।