काठमाडौं । काठमाडौंबाट छूटेको यात्रु बाहक बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा दुर्र्घटनामा परेको छ । सो क्रममा कम्तिमा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सो बसमा भारतीय तीर्थयात्रु थिए । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।
दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटना पछि बसका चालक फरार थिए । उन िर सहचालकलाई प्रहरीले धनुषबाट नियन्त्रणमा लिएको छ ।