काठमाडौंबासीको सभ्य सभा, पुलिसलाई पानी र फूल, फोहोर सडक आफै सफा गरे

काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको विरुद्धमा बुधबार काठमाडौंमा भब्य सभा आयोजना भयो ।

माइतिघर मण्डलामा आयोजना गरिएको विरोधसभामा हजारौं मानिस ओर्लिएका थिए । काठमाडौंको विभिन्न चोकबाट निस्किएको जुलुस माइतिघर मण्डलामा भेला भएको थियो ।

नेपाली झण्डासहित उपस्थित हजारौं नागरिकले धर्म र आस्थामाथि खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराए ।

आन्दोलनका कारण काठमाडौंको छवि बिग्रिएको छ । उग्र आन्दोलन र झडप भइरहने भएकाले यहाँको आन्दोलन असुरक्षित हुने भए रहन्छ ।

तर, बुधबार काठमाडौं बासिले आफ्नो फरक स्वरुप प्रदर्शन गरे । हजारौं मानिस सहभागी भएपनि अप्रिय घटना भएन । एम्बुलेन्सलाई सजिलै बाटो दिइएको थियो भने सहयोगी तथा स्वयमसेवकले पानी वितरण गरे ।

 

 

स्वयमसेवकले सुरक्षामा खटिएकर्मीलाई पानी खुवाएको दृष्य हेर्न लायक थियो । आन्दोलनकारीले बुधबार अपरान्ह आफैले फोहोर टिपे र माइतिघर मण्डलालाई सफा पारी छाडे ।

केही दिन अगाडी गुठी विधेयककै विरोधमा माइतिघर मण्डलामा भेला भएका आन्दोलनकारीलाई प्रहरीले पानीको फोहोरा फालेर धपाएको थियो ।

सरकारले निजी र सार्वजनिक गुठीलाई प्राधिकरण बनाएर नियमन गर्ने गरी गुठी विधेयक ल्याएपछि देशभर आन्दोलन चर्किएको छ ।

 

 

खासगरी गुठीमा काठमाडौं बासीको बढी चासो छ । यहाँको नेवारी समूदायको परम्परासँग जोडिएको गुठीमा सरकारले आँखा लगाएको भन्दै यहाँका नागरिक आन्दोलनमा उत्रिएका हुन् ।

व्यापक विरोध भएपछि सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । तर, काठमाडौं बासीको माग विधेयक खारेज नै हुनुपर्ने रहेको छ ।