काठमाडौंमा इतिहासकै ठूलो वर्षा, भयानक क्षति

photo source : Setopati

काठमाडौं । काठमाडौं उपत्यकामा इतिहासकै धेरै वर्षा भएका छ । यसले भयानक धनजनको क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ । २१ जना हराइरहेका छन् । बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पुर्‍याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा भएको वर्षाले रेकर्ड तोडेको छ ।


सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको थियो । काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।
बंगालको खाडीको उत्तरपट्टी न्यूनचापीय प्रणाली विकास भएको थियो । यो नेपालको नजिक थियो ।

यो प्रणाली उत्तरतिर हानिएको हुनाले यसले नेपालमा धेरै नै जलवाष्प ल्यायो । र, ठाउँठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाले ७ असोजको दिन साँझ ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १० गतेदेखि १२ गतेसम्म मनसुन सक्रिय हुन लागेको भन्दै २७ जिल्लामा रेड अलर्ट जारी गरेको थियो ।