काठमाडौं । काठमाडौंको शोभाभगवतीस्थित कोठामा सँगै बस्ने महिलाको हत्या गरी भारत फरार भएका एक जना पक्राउ परेका छन् । सो स्थानमा हत्या भएको तीन महिनापछि शव फेला परेको थियो । गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका १५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव फेला परेको थियो। सो घरकी घरबेटी सरिता गिरी अर्कै घरमा बस्ने गरेको पाइएको छ ।
एक वर्षदेखि एक जोडी ‘लिभिङ टुगेदर’मा सो घरमा बस्दै आएको प्रहरीले जनाएको छ । तर उनीहरूको नाम-ठेगाना लगायतका विवरण घरबेटीलाई थाहा नभएको समेत प्रहरीको भनाई छ । शुक्रबार दिउँसो उक्त घरमा घरबेटी गिरी पुग्दा बाहिरबाटै ताला लगाइएको थियो। ताला लगाइएको घरमा बाहिरसम्म गन्ध आएपछि उनले स्थानीयलाई बोलाएको समेत प्रहरीले जानकारी दियो ।
हल्लाखल्ला भएपछि प्रहरीलाई समेत बोलाइएको थियो। अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भूबाट डिएसपी पूर्णिमाकुमारी चन्द र जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष टोली खटिएको थियो। ढोका फोडेर हेरेपछि एक जना महिलाको शव भुँइमा सडिगलिसकेको अवस्थामा फेला परेको परिसर प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए ।
उनका अनुसार बाहिरबाट ताला समेत लगाइएको र भित्र महिला मृत फेला परेपछि हत्याकै आशंकामा अनुसन्धान अघि बढाएको थियो। ‘दुइ जना बस्ने घरमा महिला मृत फेला पर्नु र बाहिरबाट ताला लगाएको हुँदा हत्या हो भन्ने आशंकामा अनुसन्धान अघि बढ्यो,’ उनले भने, ‘घरेबेटीले आफ्नो घरमा बस्नेको विवरण नराख्दा मृत फेला परेकाको पहिचान सुरूमा खुलेन। अनुसन्धानकै क्रममा पहिचान खुल्यो।’
एसएसपी खत्रीका अनुसार घरमा केही कागजात फेला परेपछि महिलाको पहिचान खुलेको हो। मृतक तनहुँ भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मिया हुन्। उनीसँगै बस्ने पुरूष भने गायब थिए। शव सडिगलिसकेको अवस्थामा हुनु र सँगै बस्ने पुरूष फेला नपरेपछि उनी नै मुख्य आरोपी हुनसक्ने प्रहरीको अनुमान थियो। ती पुरूषको पहिचान खुलाउन पनि प्रहरीले केही कागजातहरू फेला पारे। घरमा फेला परेका गार्मेटका कागजातबाट उनको पहिचान खुल्यो। उनी भारतको मोतिहारीका ४३ वर्षीय इकरामउल हक अन्सारी भएको उनले बताए।
मृतक मिया र फरार रहेका अन्सारी दुबै जना विवाहित हुन्। उनीहरू छुट्टिएर काठमाडौंमा बस्दै आएका थिए। काठमाडौंमा गार्मेट उद्योगमा कालिगढको काम गर्ने जिबिएस गार्मेटबाट भदौ २४ गते दुई हजार रुपैयाँ भुक्तानी लिएको रेकर्ड कार्ड प्रहरीले घरबाट फेला पारेको थियो। जसबाट उनीसम्म पुग्ने आधार पाएको एसएसपी खत्री बताउँछन्। तर सोही बेला अन्सारी भारत भागिसकेको सूचना प्रहरीले पायो।
बल्खुबाट बिहान करिब ६–७ बजेतिर वीरगन्ज जाने सुमो चढेर भागेपछि परिसरले भारतीय प्रहरीसँग समन्वय गर्यो। ‘अनुसन्धान गर्दै जाँदा उनी रक्सौल, गुजरात, लखनउ हुँदै भारतका विभिन्न स्थानमा दुइ महिनासम्म भारतमा बसिरहेका रहेछन्,’ एसएसपी खत्रीले भने, ‘आफूले गरेका हत्याबारे प्रहरीले थाहा पाएरपाएनन् भनेर साथीहरूसँग उनले निरन्तर सूचना लिइरहेका हुन्थे। तर प्रहरीले थाहा नपाएपछि अन्सारी काठमाडौं नै फर्किएर आए।’
काठमाडौं आएपछि कालिमाटीस्थित बिएन फेसन गार्मेन्टमा काम गरिरहेको थाहा पाएपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको एसएसपी खत्रीले बताए।
प्रहरीका अनुसार घटना कात्तिक पहिलो साता भएको हो। हत्या भएको यकिन मिति भने खुलिसकेको छैन। इकरामउल र सफिनाबीच पछिल्लो समय विवाद भइरहन्थ्यो।
इकरामउलले मदिरा सेवन गरी विवाद गर्ने गरेका थिए। एक राति करिब ९ बजेदेखि सुरू भएको विवाद भोलिपल्ट बिहान ३–४ बजेसम्म भएको थियो। त्यसैक्रममा इकरामउलले भित्री ढोकाको आग्लोले प्रहार गरी गम्भीर बनाएको अनुसन्धानबाट खुलेको छ। चिकित्सकको पोष्टमर्टम रिपोर्टअनुसार सफिनाको शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन्।
कुटपिट गरेपछि घाँटीमा सलले बाँधेर हत्या गरेको देखिएको एसएसपी खत्रीले बताए। हत्यापछि डरले इकरामउल घरमा ताला लगाएर हिँडेका थिए। उनले घरको चाबी पनि झाडीमा फालेर बल्खुतिर हिँडेर गएका थिए। परिसरले उनलाई आइतबार सार्वजनिक गरेको हो।