काठमाडौं । काठमाडौं महानगरपालिकामा कल सेन्टर संचालनमा आएको छ । नागरिकका गुनासो व्यवस्थापन तथा सोधपुछ गरी त्यसको समाधान गर्ने गरी यस्तो केन्द्र सञ्चालनमा ल्याइएको हो । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । काठमाडौंबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै महानगरका मेयर बालेन्द्र साह(बालेन)ले जनताले प्रश्न सोध्न पाउनुपर्ने बताए ।
उनले महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि कलसेन्टर ल्याएको बताएका छन् ।। महानगरले निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सकिनेछ । कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ । काठमाडौं महानगरका अनुसार गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं. फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् ।
त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ । इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्वीर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने छ ।