काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोक र नयाँ बसपार्कस्थित बिजी मल अगाडि सडक दुर्घटनामा एक–एक जनाको ज्यान गएको हो ।

हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किएर दुर्घटना भएको र सो क्रममा सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको छ । प्रहरीका अनुसार विपरीत दिशाबाट लेन मिचेर आएको बा ५ ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठोक्किएको थियो । टिप्पर चालक प्रहरीको नियन्त्रणमा छन् ।

उता, नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको छ । लमजुङ घर भई काठमाडौं बस्ने सुनमाया गुरुङको मोटरसाइकलको ठक्करबाट ज्यान भएको छ ।

गोंगबुबाट नयाँ बसपार्क छिर्दै गरेको बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले उनलाई शनिबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक भने प्रहरी नियन्त्रणमा छन् ।