काठमाडौं । काठमाडौंमा भएको दुई छुट्टाछुट्टै आगलागीमा दुई घर जलेका छन् । काठमाडौंको सतुंगल र चाबहिलमा आगलागी भएको हो । चन्द्रागिरि नगरपालिका ११ मा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सतुंगलमा चोककुमार श्रेष्ठले सन्चालन गरेको चप्पल कारखानामा गए राति विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा चप्पल बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ । गएराति नै काठमाडौंको चाबहिलमा इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।