न्युयोर्क
अमेरिकन आईडलको सिजन १८ मा नेपाली मुलका २२ वर्षीय अर्थर गन (दिबेश पोखरेल) प्रतिस्पर्धामा फर्स्ट रनर अप अर्थात दोश्रा बन्न सफल भएका छन् । अर्थर सन् १९९६ मा माता मैया र पिता दत्तरामको ४ सन्तान मध्येको एक सन्तानको रुपमा काठमाडौंमा जन्मिएका हुन् । सन् २०१४ मा कन्सास राज्यमा आप्रबासीका रुपमा प्रबेश गरेका अर्थरले आईतबार आयोजित अन्तिम प्रतिस्पर्धामा अमेरिकन आईडलको रनरअप बन्न सफल भएका हुन् ।
अन्तिम ३० प्रतिस्पर्धिको रुपमा अमेरिकन आईडलमा चर्चामा आएका अर्थरले क्रमश; अन्तिम बिस, अन्तिम १० र अन्तिम ५ मा पपुलर मतको आधारमा अगाडि बढ्दै उनी आईतबार दोश्रा भएका हुन् । प्रतिस्पर्धाको उपाधि भने अमेरिकन प्रतिस्पर्धि २१ वर्षीया जस्ट साम (सामन्था डियाज्) ले जितेकी हुन् । उनी न्युयोर्क सहरको बिभिन्न ट्रेन स्टेशनहरु गीत गाएर यात्रुहरुलाई मनोरञ्जन गराउने गर्दथिन् ।
अर्थर गनलाई अमेरिकन आईडलको उपाधि नजिक पुर्याउनका लागि अमेरिकास्थित नेपाली समुदायले पपुलर भोटको लागि सामाजिक संजाल मार्फत प्रचार प्रसारमा निकै मेहनत गरेको थियो ।