काठमाडौँ, २३ कात्तिकः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभागले जनाएको छ ।
चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाइएको विभागका प्रमुख सरिता राईले जानकारी दिए । उनका हाँअनुसार उक्त व्यवस्था अटेर गरेमा प्रतिपटक रु १० हजार जरिवाना हुनेछ ।
“हरेक वर्ष जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने गरेको छ । प्रदूषण बढ्नुमा यसरी खुला रूपमा बालिने प्लाष्टिकजन्य वस्तुको महत्त्वपूर्ण हिस्सा छ”, विभागका प्रमुख राईले भने, “जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।”वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई नकारात्मक असर गर्दछ ।
ती व्यक्तिका साथै सहरवासी सबैको स्वास्थ्य सुरक्षा र वातावरण जोगाउन पनि खुला रूपमा प्लाष्टिकजन्य वस्तु बालेर धुँवा उत्सर्जन घटाउने प्रयास कामपाले गरेको हो । राईले भने, “कामपाले जारी गरेको प्रतिबन्धसम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।”