काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटनामा परेको । महेन्द्रनगरबाट काठमाडौं आउने गरेको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सु प प्र ०२(००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाएका छन् ।
उनका अनुसार ३० जना घाइते भएको अवस्था छ । ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको चन्द्रौटामा उपचार जारी छ । काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जानकारी दिएको छ । मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको सनाखत भइसकेको छ । दुर्घटनाको कारण खुलेको छैन ।