काठमाडौं उपत्यकामा आजबाट विद्यालयमै बालबालिकालाई खोप लगाईंदै

काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजबाट कोभिड १९ भाइरसविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाउन लागिएको हो । सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु हुन लागेको हो । बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ । यसबाट नेपालमा खोप लगाउने प्रतिशत समेत ठूलो हुने छ ।