काठमाडौं उपत्यकामा एकाबिहानै वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ । मौसमविद ग‍ोविन्द झाका अनुसार लगातार भने पानी पर्ने छैन् । केहीबेर रोकिने अनि फेरि पर्ने हुन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ ।

अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । तर मोरङको केराबारीमा गत २४ घण्टामा २५७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा देखिन्छ । लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरुलाई यो वर्षाले केही राहत दिएको छ । तर कतै कतै असिना पानी, चट्याङ र पहिरोले भने दुःख दिएको छ ।

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मौसमविद झाले पर्सिदेखि मौसममा क्रमिक सुधार हुने बताए । आजको तुलनामा भोलि र भोलिको तुलनामा पर्सि कम पानी पर्ने उनको भनाइ छ ।