काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही भूभागमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
कोशी, गण्डकी, बागमती प्रदेशका पहाडी भूभाग र काठमाडौं उपत्यकामा वर्षा भएको हो । पछिल्लो ६ घन्टामा इलामको जीतपुरमा सबैभन्दा बढी अर्थात् २१.८ मिलिमिटर पानी परेको छ। काठमाडौंको बुढानीलकण्ठ केन्द्रमा पछिल्लो एक घन्टामा २।४ मिलिमिटर वर्षा मापन भएको छ।
सुन्दरीजल क्षेत्रमा पछिल्लो एक घन्टामा ४ मिलिमिटर वर्षा भएको महाशाखाले बताएको छ। कास्की चोम्रोङ आसपास क्षेत्रमा पछिल्लो ६ घन्टाको अवधिमा १६.८ मिलिमिटर वर्षा भएको छ। लम्जुङको राइनास स्टेसन ३.८ मिलिमिटर पानी परेको छ। म्याग्दीको तातोपानी क्षेत्रमा पछिल्लो ६ घन्टामा १२.८
मिलिमिटर वर्षात् भएको छ । प्रि–मनसुन अवधिमा वर्षात् नहुँदा आगलागी र डढेलोका घटनामा बढेका थिए । खडेरीका कारण मध्य पहाड तथा तराई भूभागमा पनि बालीनाली लगाउन समस्या भएको छ ।