काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान

File Photo

काठमाडौं । प्रशासनले काठमाडौं उपत्यकामा मास्क अनिवार्य गरेको छ । कोरोना भाइरसको बढ्दो महामारीलाई ख्याल गर्दै मास्क अनिवार्य रुपमा लगाउन उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन् । प्रशासनले भिडभाड नगर्न र होली पर्व समेत घरमा मात्र मनाउन समेत भनेको छ ।

बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । ‍आउँदो चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन विशेष रुपले प्रशासनले आह्वान गरेको छ ।

सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको हो। काठमाडौं प्रशासनका अनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरे संक्रामक ऐन अनुसार कारबाही हुने भएको छ । ललितपुर जिल्ला भित्र ११ बजेपछि सञ्चालन हुने रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने छैन ।