काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको माइक्रो गाडी नागढुंगास्थित ढलानमा रोकिराकेको अवस्थामा आफै गुडेर अनियन्त्रित भई सडक छेउको पेटीमा ठोक्किएको थियो।

दुर्घटनामा परी नाम, ठेगाना नखुलेको अन्दाजी २५–२६ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो। साँझ ५ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिए।

दुर्घटनामा थप ९ जना घाइते भएका छन्। घाइतेहरूमा चितवनको कालिका नगरपालिका ७ की ६८ वर्षीया तारादेवी कुमाल, काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ की ३३ वर्षीया बिन्दु देवकोटा, उनका छोरा ३० महिनाका दिव्यन पोखरेल, चितवनको भरतपुर महानगरपालिका ६ की ४० वर्षीया अनिता थापा र उनकी १७ वर्षीया छोरी एरिसा थापा, भरतपुर ४ का ३७ वर्षीय मोहित गुरुङ, चितवनको कालिका नगरपालिका ७ की २५ वर्षीया सीमा कुमाल, उनका ६ वर्षीय छोरा इसान कुमाल र सर्लाहीको सोल्टी बजारकी २० वर्षीया कुसुम राई छिन्।

उनीहरूको काठमाडौंकै ट्रमा सेन्टर, अन्नपूर्ण न्यूरो अस्पताल र मेड पोइन्टमा उपचार भइरहेको छ। माइक्रो चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका(१३ का ३० वर्षीय राजेश घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।