काठमाडौं । राजधानी उपत्यका भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा बुधबार दिउँसो ७ घण्टासम्म बन्द भयो । नागढुंगा चेकपोस्टदेखि केही पर काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरोका कारण सयौं सर्वसाधारण, पशुचौपाया र विभिन्न सामानहरु दिनभर रोकिए ।
बुधबार बिहान ११ बजे खसेको पहिरो पन्छाएर सडक एकतर्फी रुपमा खुलाउन ७ घण्टा लागेको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् । करिब ३ मिटरसम्म पर पहिरो गएको थियो । पहिरो पन्छाउन ११ बजेबाटै सुरु गरिए पनि निरन्तर खसिरहेकाले धेरै समय लागेको हो । पहिरो पन्छाउन नागढुंगा सुरुङ आयोजना, चन्द्रागिरि नगरपालिका र सडक विभागबाट जेसीबी मगाएर काम गरिएको थियो ।
बाटो अवरूद्ध भएपछि दुईतर्फी नै सवारी साधन रोकिएका थिए । अहिले एकतर्फ बाटो खुलेको छ । सोहीकारण काठमाडौं बाट बाहिरिने र बाहिरिन सवारी साधन आज पनि चापमा गुडिरहेका छन् । बिहानै ११ बजेदेखि पहिरो गएकाले ७ घण्टासम्म यात्रु सडकमै अलपत्र परेका छन् । निरन्तर ठूलो पहिरो गएकाले प्रहरीले अगाडिको चेक पोस्टहरुलाई समेत यसबारेको सूचना सर्कुलेसन गरेको थियो ।