काठमडाौं । काठमाडौँ महानगरपालिकाभित्रका शिक्षालयमा अनुशासन इन्चार्ज (डिआई) राख्न नपाइने भएको छ । महानगरपालिकाको शिक्षा विभागले शुक्रबार निर्णय गरेर कार्यान्वयनका लागि सबै सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । पछिल्लो समय सामुदायिक तथा निजी विद्यालय व्यवस्थापनले विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा अनुशासन इन्चार्ज राख्ने गरेका छन् ।
यस्ता व्यक्तिले विद्यार्थीलाई अनावश्यक यातना दिने, भय सिर्जना गर्ने तथा मानसिक र शारीरिक सजायसमेत दिने गरेका छन् । विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने नाममा दिइने यस्तो यातनाले उल्टै उनीहरूको सिकाइस्तरसमेत घट्ने गरेको अभिभावकको गुनासो छ । महानगरपालिकाले भयरहित वातावरणमा विद्यार्थीमैत्री सिकाइ सुनिश्चित गराउनसमेत सबै विद्यालयलाई अनुरोध गरेको छ ।
महानगरपालिका शिक्षा अधिकारी सीताराम कोइरालाले शिक्षालयमा डिआईले विद्यार्थीलाई यातना दिएका विषयमा थुप्रै गुनासो आएको जानकारी दिएका छन् । प्रहरीमा पनि धेरै उजुरी परेका छन् । डीआईको काम काम विद्यार्थीले कुनै गल्ती गरेमा सचेत गराउनेदेखि साथीको अगाडि उभ्याएर चरम यातना दिनेसम्मको हुने गरेको छ ।
शिक्षण संस्थामा पढ्न आएका विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूलाई सोहीअनुसारको परामर्श दिने विज्ञ (काउन्सिलिङ इन्चार्ज) राख्नुपर्नेमा न्यूनतम योग्यतासमेत पूरा नगरेका व्यक्तिलाई डीआईका नाममा बाहुबल भएका चुल्ठेमुन्द्रे व्यक्तिलाई राख्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ ।