काठमाडौं । प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेको छ । मंगलबार उनलाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहित सिरोहियाको कार्यकक्षमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ पूर्जी थमाएको थियो ।
कार्यालयबाट निस्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सिरोहियाले २०६३\६३ मा ज्यानको बाजी लगाएर ल्याएको गणतन्त्र भएको भन्दै कसैको उजुरी पर्दैमा गिरफ्तारी हुनु गलत भएको बताए । उनले गृहमन्त्रीको दुई पासपोर्टमा उजुरी भएको समेत आरोप लगाए ।
छानबिनको विषयमा आफूले पहिल्यैदेखि सहयोग गर्ने बताएको भन्दै उनले भने, ‘सरकारले हचुवामा अधिनायकवाद देखिएको छ, यो देशमा कानून छ भने दुई पासपोर्ट बोक्ने र सहकारी ठगलाई पनि कारबाही हुनुपर्छ । भोलि उहाँको नाममा वारेन्ट जारी हुन्छ भन्नेमा विश्वस्त छु ।’
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता एने, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले पछिल्लो समय निरन्तर उपप्रधान एवं गृहमन्त्री मुछिएको सहकारी ठगी र दोहोरो नागरिकताबारे समाचार प्रकाशन गरिरहेको थियो ।