कामको खोजीमा एक वर्षमा विदेशिए साढे ७ लाख युवा

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ मा ७ लाख ४१ हजार युवा कामको खोजीमा विदेशिएका छन् । आव २०७९-८० को तुलनामा यो संख्या केही कम हो । २०७९–८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदी मलेसियाले आप्रवासी श्रमिकको भर्नामा रोक लगाउँदा यो संख्यामा कमी आएको बताउँछन् । उनका अनुसार मलेसियाले सन् २०२३ को मार्च महिनादेखि विदेशी कामदारको भर्नामा रोक लगाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली रोजगारीका क्रममा विदेशिएका छन् । त्यस्तै माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ६०० र असारमा ५८ हजार ७३६ वैदेशिएको तथ्यांक छ ।

विभागका अनुसार पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि यूएई नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको छ । यूएईमा मात्रै गत आवमा १ लाख ९३ हजार ४३९ जना श्रम स्वीकृति लिएर गएका छन् । त्यस्तै मलेसियामा १ लाख ५१ हजार ३९५ जना रोजगारीका लागि गएका छन् । त्यसपछि क्रमशः साउदी अरब, कतार, कुवेत जानेहरू छन् ।

पछिल्ला वर्षमा नेपाली युवाहरू कामको खोजीमा युरोपेली मुलुकसमेत जान थालेका छन् । विभागका अनुसार गत वर्ष क्रोएसिया, रोमानिया, साइप्रस, माल्टा, पोर्चुगल लगायत मुलुकका लागि थुप्रै नेपालीले श्रम स्वीकृति लिएका छन् ।