२ जेठ, म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पत्ति पक्राउ परेका छन् । ४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पत्ति पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । हत्या आरोपी दम्पत्तिलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
अनुसन्धानका क्रममा ती दम्पत्तिले हत्या गरी शव लुकाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । आरोपित दम्पत्तिले बाउँसोको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटनालाई लुकाउन जङ्गलमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पौडेलले बताए । आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।