काठमाडौँ, १९ पुस । काठमाडौ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् । सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै आएको चीनकोे विश्वप्रसिद्ध आइटी कम्पनी ‘हिक भिजन ब्राण्ड’ द्वारा उत्पादित क्यामरा हुन् । अति विकसित शहरमा विशेष गरेर शान्ति सुरक्षा, सडक दुर्घटना लगायत अन्य जानकारीका लागि यस्ता क्यामरा जडान गरेर सहायता लिइन्छ ।
ती ‘क्यामरा एआई’ प्रबिधिमा आधारित ‘ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम’ (ओएनभीआइएफ) प्रोटोकलका भएका ‘हिक भिजन ब्राण्ड’ को नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार आठ ‘मिगापिक्सेल’ र चार ‘मेगाापिक्सेल’का ती क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्दछन् ।
अत्याधुनिक ‘बुलेट क्यामरा’ले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् । उनले भने, “इन्बिल्ट एआई फिचर भएका यी क्यामराले सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस सहित सवारी साधनको आवत जावत हेर्न, गणना गर्न र स्थिति स्पष्ट देख्न सकिन्छ । साथै पिटिजेड (स्वचालित रुपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन र जुम आवट) हुने यी क्यामराबाट महत्वपूर्ण जानकारी , सूचना प्राप्त गर्न सहज हुने छ ।”
अङग्रेजी नयाँ वर्षको उपलक्ष्यमा हालै आयोजित कार्यक्रममा ती क्यामरा काठमाडौ महानगरपालिका वडा नम्बर ३० को कार्यालयलाई हस्तान्तरण गरिएको म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका निर्देशक कमल तामाङले जानकारी दिए । सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगरलाई प्रविधि मैत्री बनाईँदै लगिने नीति अनुसार महानगर भित्र फाइबर सञ्चालन प्रणाली (तार रहीत)बाट सिसिटिभी मार्फत् निगरानी गरिने लक्ष्य रहेको जानकारी दिए । काठमाडौ महानगरपालिका –३० का वडाध्यक्ष दलबहादुर कार्कीले अब सुरक्षाका अवस्था र अन्य निगरानीका काम सिसिटिभी क्यामरा मार्फत निगरानीकक्षबाट गर्न सकिने बताए ।
काठमाडौ महानगरपालिका–३० का वडा सचिव देवराज जोशीका अनुसार करिव ७० लाख रुपैयाँका लागतमा नयाँ किरण अल नेपाल जेभीबाट सिसिटिभी जडानका काम गराइएको हो । महानगरीय प्रहरीवृत्त माली गाउँका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर बोहरा सिसिटिभी क्यामरा तेस्रो आँखा भएको बताए । उनका अनुसार यस्ता क्यामराबाट कुनै स्थानमा घटना भएमा, अपराध भएमा त्यस्ता अपराधिलाई पक्राउ गर्ने, दुर्घटना भएमा तत्काल उद्धार गर्ने लगायतका काममा सहज हुन्छ ।