काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन प्रयास भइरहेको स्पष्ट पारेकी छिन् । उनले नेपालको आधिकारिक क्षेत्रफल घोषणा बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिइन् ।
संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले आवश्यक प्रक्रिया पूरा गरी क्षेत्रफल घोषणा गरिने बताइन् । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन सरकारी निकायले वार्ता र कूटनीतिका माध्यमबाट आवश्यक पहल गरिरहेको उल्लेख गर्दै शंका नगर्न पनि उनले आग्रह गरेकी छिन् ।
उनले भनिन्, ‘ती भूभाग निसन्देहस् नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त छ । ती स्थानहरू नेपालको भोगचलनमा ल्याउन सरकारको सक्षम निकायले वार्ता र कूटनीतिका माध्यमबाट आवश्यक पहल गरिरहेकै छ ।’ सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।