कालिकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृत्यु

कालिकोट । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना कर्णाली नदीमा बेपता भएका छन्। अन्य दुई जना घाइतेको भने उपचार भइरहेको छ । फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ खनिरहेको ठाउँमा पानी जमेको निरीक्षण गर्न गएको जेसीबी फर्किने क्रममा दुर्घटनामा परेको समाचारमा उल्लेख छ ।

दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय चरित्र सार्की, वडा नम्बर २ बस्ने १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएपछि उपचारका लागि कालीकोट जिल्ला अस्पताल पुर्याइएका रास्कोट नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय मिलन शाहीको उपचारका क्रममा ज्यान गएको छ ।

जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो जेसीबी चालकसहित तीन जना बेपत्ता भएको कालीकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेदेखि बेपत्ता सबै स्थानीय रहेको प्रहरीले जनाएको छ। चालक भने कर्णाली हाइड्रोपावरका कर्मचारी हुन् ।