कालिकोट तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित

काठमाडौं । कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ । नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले भने तेस्रो र चौथो मत ल्याएका छन् ।

एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याए । ०७९ को चुनावमा यहाँ माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो ।

माओवादीका परबहादुर शाहीले २३४ मत ल्याएर वडाध्यक्ष जित्दा नेमकिपाका दिपबहादुर शाही १६१ मत सहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । अर्थात् यहाँ नेमकिपा पहिले पनि बलियो प्रतिस्पर्धी शक्ति थियो, र यसपटक वडाध्यक्ष जित्यो । तर कांग्रेस र एमाले भने पहिले पनि दयनीय अवस्थामा थिए ।