कालिन्चोकमा हिमपात, पर्यटकलाइ अवसर


काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।

दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको स्थानीय  होटल सञ्चालकहरुले जानकारी दिएका छन् । जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ।

तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसोबाट हिमपात सुरु भएको थियो । निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको छ ।
हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि हुने र कालिञ्चोकमा पुगेका पर्यटक खुशी देखिएको छ ।

कालिन्चोक क्षेत्रमा विगतका वर्षमा यो वर्ष भने पहिलोपटक हिमपात भएको हो। कालिन्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ ।

हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिन्चोकमा यो वर्ष हिमपात नहुँदा  पर्यटकको चहलपहल खासै बढेको थिएन।

पछिल्लो समय कालिञ्चोकमा भारतको केरला, पश्चिम बंगाल, पाकिस्तान, बंगलादेश लगायतबाट उल्लेख्य पर्यटक आउने गरेका छन् ।

कालिन्चोकमा हिउँ खेल्न नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट समेत ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।  कालिन्चोकको कुरीमा झन्डै ९० सय वटा साना तथा ठूला होटल छन्।