काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोतीमा नाला बनाउनको लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन जना मजदूरको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका २ को फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुरको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । कावासोती थानादेखि पूर्वतर्फ लगिएको ढलको नाला एक महिनाअघिदेखि खन्न शुरु गरिएको हो ।
थानाचोकदेखि पूर्व हाटबजारसम्म लगिएको नाला खन्न फटाफट काम नगरेको भन्दै मेयरको ध्यानाकर्षण गराए पनि मेयरले बेवास्ता गरेको स्थानीयबासीको आरोप छ । राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयबासीले विरोध गरेका छन् ।