पोखरा । कास्की जिल्लाभर बुधबारबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशमा अहिले ९ सय ३७ जना संक्रिय संक्रमित छन् । त्यसमध्ये कास्कीमा मात्र संक्रिय संक्रमित ६ सय ६४ नाघेको छ । सरकारले ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको शहरमा निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय अधिकारीहरुलाई दिएको छ ।
कास्कीमा सवारी साधन जोर विजोर प्रणालीमा चलाउनु पर्नेछ । अत्यावश्यक सेवाका सवारीमा भने यो लागु हुने छैन । सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथ सेवा तथा स्थान बन्द गरिएको छ । विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न बन्द गरिएको छ ।
घरमा अधिकतम १५ जनासम्मको सहभागीतामा गर्न सकिने छ । दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न सकिनेछ । बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ । होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्ने गरी आदेश तोकिएको छ ।