किन त्याग्दैछ माओवादीले ‘माओवाद’ ?

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीको नाम, चुनाव चिन्ह र पार्टीको संरचना बदल्ने निष्कर्षमा पुगेको छ । बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी नाम, चुनाव चिह्न र पार्टी संरचना परिवर्तनको प्रस्ताव आएसँगै माओवादीले नयाँ बहस सुरु गरेको हो । १२–२१ माघमा सम्पन्न स्थायी कमिटी बैठकबाट अनुमोदन भएको यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको भर्चुअल बैठकमा प्रस्तुत गरे ।

सशस्त्र विद्रोहको राजनीतिक कार्यक्रमसहित २०५२ मा नेकपा एकता केन्द्रलाई नेकपा माओवादीमा परिवर्तन गरिएको थियो । ‘गाउँदेखि सहर घेर्दै जनवादी क्रान्ति पूरा गर्न’ भन्दै त्यति बेला पार्टीको सिद्धान्तमै मार्क्सवाद र लेनिवादसँगसँगै माओवाद राखिएको थियो ।

सशस्त्र विद्रोह त्यागेर संसदीय राजनीतिको अभ्यास गर्ने क्रममा २०७५ मा एमालेसँग एकता हुँदा पनि माओवादीले पार्टीको नाम र मार्गदर्शक सिद्धान्त स्थगन गरेको थियो । तर, सर्वोच्च अदालतले ३३ फागुन २०७७ मा नेकपा एकता बदर गरेर दुवै पार्टीलाई पुरानै स्थितिमा फर्काइदियो । यसपछि १ चैत २०७७ को केन्द्रीय कमिटी बैठकमा पनि प्रचण्डले पार्टी नाम र विचारधारा बदल्ने प्रस्ताव ल्याएका थिए । तर त्यसबेला प्रचण्डको प्रस्ताव अगाडि बढेन ।

फेरि अध्यक्ष प्रचण्डले नै पार्टी बैठकमा नाम र चुनाव चिह्न परिवर्तनको प्रस्ताव ल्याएका छन् । माओवादीका कतिपय नेताहरुले भने विभिन्न पार्टीहरुसँग एकता गरी समाजवादी केन्द्र निर्माण गर्न नाम परिवर्तनको प्रस्ताव आएको बताउँछन् । एकीकृत समाजवादीसँग एकताका लागि वार्ता चलिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता नजिक पुगिएको माओवादी केन्द्रले बताएको छ ।

माओवादी नाम, माओ विचारधारा र हसिया हथौडा चुनाव चिह्नले शहरीया जनमत आकर्षण गर्न नसकेको माओवादी नेताहरुको निष्कर्ष छ । २०६४ को संविधानसभा चुनावमा पहिलो शक्ति भएको माओवादी त्यसयता भने निरन्तर ओरालो यात्रामा छ । पहिलो संविधानसभामा ३१ प्रतिशत मत पाएको माओवादी यस पटकको प्रतिनिधिसभामा ११ प्रतिशतमा खुम्चिन पुगेको छ ।