किन पक्राउ परे भ्रष्टाचार विरोधी अभियानबाट उदाएका केजरीवाल ?

काठमाडौं । भारतको राजधानी प्रदेश दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अनुसन्धान गरिरहेको छ । दिल्लीस्थित उनको सरकारी निवासमा प्रवेश गरेका ईडीका अधिकारीले दुई घण्टा उनीसँग सोधपुछ गरेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिइयो ।

लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धनलाई धक्का पुग्ने आशंका छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव हुँदै छ । देश चुनावमा होमिएका बेला विपक्षी गठबन्धन ‘इन्डिया’ का एक जना प्रभावशाली नेता केजरीवाल पक्राउ परेका हुन् ।

दुई महिनाको अन्तरालमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले केही समयअगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ ।

मदिरासम्बन्धी नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा ईडीले केही समयदेखि उनलाई सोधपुछका लागि बोलाउँदै आएको थियो । एक दिनअगाडि मात्रै ईडीले केजरीवाललाई १० औं पटक बोलाएको थियो । तर, दिल्लीका मुख्यमन्त्री केजरीवाल ईडीको विरुद्ध दिल्ली उच्च अदालत गएका थिए ।

तर, अदालतले बयानका लागि जान नपर्ने केजरीवालको माग अस्वीकार गरेपछि ईडीका अधिकारीहरू बिहीबार केजरीवालको गिरफ्तारीको तयारीसहित उनको निवास पुगेका थिए । मदिरासम्बन्धी नीति ल्याएर दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै हिरासतमा छन् ।

दिल्ली सरकारले तीन वर्षअघि मदिरा बिक्रीसम्बन्धी नयाँ नीति ल्याएको थियो । त्यही नीतिलाई दिल्लीमा विपक्षीको भूमिकामा रहेको भारतीय जनता पार्टीले ‘नीति घोटाला’ भन्दै केजरीवाल सरकारलाई घेर्दै आएको छ । २०२१ अगाडि दिल्लीमा मदिराको विक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी थिए । तर, केजरीवाल सरकारले नयाँ नीति ल्याएर मदिरा बिक्री वितरणको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।

यही प्रकरणमा दिल्ली सरकारमाथि सय करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ । त्यसमा भ्रष्टाचारको आरोप र विवाद बढेपछि केजरीवाल सरकारले एक वर्षपछि उक्त नीति फिर्ता लिएको थियो । ईडीले सोही प्रकरणको छानबिन गर्दै आएको छ । एक वर्षअगाडि सोही मुद्दामा उपमुख्यमन्त्री मनीष सिसोदियालाई ईडीले पक्राउ गरेको थियो । अहिलेसम्म उनी हिरासतमै छन् । केही महिनाअगाडि राज्यसभा सांसद सञ्जय सिंह पनि पक्राउ परे । मदिरासम्बन्धी नीति घोटालाबाहेक ईडीले केजरीवालमाथि दिल्ली जल बोर्डमा पनि भ्रष्टाचार गरेको आरोपमा सोधपुछ गरिरहेको छ ।

मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टीले भने ईडीको कारबाहीलाई भाजपा निर्देशित भएको आरोप लगाउँदै आएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।