किन लम्ब्याउन खोजिदैछ संसदको कार्यकाल ?

Photo : Gorakhapatra

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले संसदमा विधेयक दर्ता गरेको छ । चुनावपछि पनि कार्यकाल कायमै राखेर तलबभत्ताको नाममा राज्यकोष दोहन गर्न खोजिएको भन्दै सरकारको यो कदमको भने विरोध भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले उम्मेदवारी मनोनयन दर्तापछि संसद्को कार्यकाल अन्त्य हुने प्रावधान राख्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले भने संसद्को आयु लम्ब्याउने कामलाई अनैतिक भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरे । कांग्रेस र माओवादीका सांसदहरुले भने विधेयकको समर्थन गरेका छन् । मन्त्रिपरिषदबाट पारित भएर हिजो प्रतिनिधि सभामा पेस भएको विधेयकमा प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनदेखि गणना गर्ने र नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनदेखि अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ ।