किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?

काठमाडौं । अमेरिकी सुरक्षा विज्ञहरुले उत्तर कोरियाली नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको दावि गरेका छन् । जापानी जासुसी स्रोतलाई हवाला दिएर यस्तो दावि गरिएको हो । किमले केही दिन अगाडी मात्र चिनियाँ खोप लिएको बताइएको छ ।

त्यसो त चीनले अघोषित रुपमै खोप निर्माण गरि लाखौं मानिसमा लगाइसकेको समाचार यसअघि नै सार्वजनिक भएको थियो । चीनले भने औपचारिक रुपमा यसको घोषणा गरिसकेको छैन ।

अमेरिकी विज्ञ ह्यारी काजियानियासले एक लेखमार्फत उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले चीनमा निर्माण गरिएको खोप लगाएको सार्वजनिक गरेका हुन् ।

लेखक वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशकका रुपमा कार्यरत रहेका छन् । चीनले सार्वजनिक रुपमा भने तीन खोपको परीक्षण जारी रहेको बताइरहेको छ ।

उता, उत्तर कोरियाले भने कोरोना सम्बन्धी कुनै पनि सूचना सार्वजनिक गरेको छैन । यस मुलुकमा कति संक्रमित छन् र कतिको ज्यान गयो भन्ने खुलेको छैन । यद्दपी उत्तर कोरियाले सीमा नाका भने गत जनवरीबाटै कडाइ गरेको हो ।