कीर्तिपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसको सानदार जित

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ । यहाँ मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित भए । एमालेले मात्र दुई महिला सदस्य जितेको छ । २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी मतान्तरले हराएका थिए ।

यस पटक कांग्रेसले राजकुमारलाई नै उम्मेदवार बनाएको थियो । एमालेले निवर्तमान मेयर रमेश महर्जनको साटो केशरत्न बज्राचार्यलाई उम्मेदवार बनाएको थियो । कांग्रेसले मेयर, उपमेयर, १० मध्ये ९ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ । नकर्मी ९ हजार ४३ मतका साथ मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५५०७ मत मात्र पाए ।

उपमेयरमा कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित भएकी छिन् । उनले ८६६५ मत ल्याउँदा एमालेकी उम्मेदवार विन्दु महर्जनले ७२०६ मत पाइन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका शिवशरण महर्जनले ४०९० र उपमेयरका उम्मेदवार सुशीला बस्नेतले २२४० मत ल्याए ।