कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत

काठमाडौं । कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अब एसिया महादेशमा व्यवसायिक फुटबल खेल्नेछन् । उनलाई साउदीमा भब्य स्वागत गरियो । क्लबले मंगलबार राति रोनाल्डोको स्वागतमा भब्य स्वागत समारोह आयोजना गरेको हो । कार्यक्रम मार्सूल पार्कमा दुई घण्टासम्म चलेको थियो ।

अल नासरको पहेँलो र नीलो जर्सी लगाएका रोनाल्डो रंगशालामा प्रवेश गर्दा आतिसवाजी र झकिझकाउ लाइटहरूले स्वागत गरियो । २५ हजार दर्शक क्षमताको खचाखच भरिएको रंगशालामा उनले दर्शकहरूलाई अभिवादन गर्दै मैदान प्रवेश गरेका बेला दर्शकहरूले हुटिङ गरे । उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले साउदी महिलाहरूले लगाउने परम्परागत कालो अबाया लुगा लगाएर बच्चाहरूसँगै पछि पछि मैदान प्रवेश गरिन् ।

त्यसअघि आयोजित एक कार्यक्रममा उनले सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका छन्। यस्तै उनले प्रशंसकलाई सम्बोधनसमेत गरेका छन्। आफूलाई युरोप, अमेरिका, अष्ट्रेलिया र पोर्चुगलका धेरै क्लबले बोलाए पनि साउदी क्लबलाई आफूले बचन दिएकाले रियाद आएको बताए। ‘युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलका धेरै क्लबहरूले मलाई अनुबन्धको प्रयास गरेका थिए। तर मैले यो क्लबलाई मेरो वचन दिएको भएर यता आएँ,’ रोनाल्डोले भने।

उनले साउदी आउनु आफ्नो अन्त्य नभएको बताए । सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका रोनाल्डो सोमबार साँझ रियाद पुगेका हुन्। रोनाल्डोले वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि क्लबमा आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्। यो विश्व फुटबल इतिहासमै हालसम्मको सबैभन्दा बढी पारिश्रमिक हो।