काठमाडौं । कुख्यात सिरियल किलरु चार्ल्स शोभराज कैदमुक्त भएका छन् । यद्दपी उनी खुला वातावरणमा आउन भने पाउने छैनन् । केन्द्रीय कारागार कार्यालयले शोभराजलाई शुक्रबार अध्यागमन विभागमा बुझाउने तयारी गरेको छ । १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन सर्वोच्च अदालतले आदेश गरेको छ । शोभराजलाई कैदबाट छाडेर १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाएर फ्रान्स पठाइने भएको छ ।
बुधबार सर्वोच्चले ‘अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजै छोड्नु र १५ दिनभित्र आफ्नै देश पठाउने व्यवस्था गर्नु’ भन्ने आदेश गरेको थियो। अन्य मुद्दामा कैद बस्न पर्ने नपर्ने यकिन गर्न कारागार, काठमाडौं र भक्तपुर जिल्ला अदालतलाई सर्वोच्च प्रशासनले हिजै चिठी लेखेको थियो। शोभराजले ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको पुष्टी भएपछि १९ वर्षदेखि कैद काटिरहेका छन्।
२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।