कुटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको व्रिफ्रिङ, चुनाव गराएर सत्ता हस्तान्तरण

३१ असोज, काठमाडौं । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । उनले भनिन्, “यो गैर राजनीतिक संक्रमणकालीन् सरकारको एउटै लक्ष्य आगामी फाुगन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नु रहेको छ । त्यसपछि हामी प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारलाई शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्नेछौं ।”

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उनले सो कुरा बताएकी हुन् । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले हालैको ‘जेन–जेड’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिइन् ।

उनले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारिन् । उनले आन्दोलनले नागरिक समाजमा पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति उत्कर्षपूर्ण अपेक्षा पैदा गरेको बताइन् । सरकार उक्त अपेक्षालाई पूरा गर्न कटिबद्ध रहेको छ भनिन् । सरकारले सुशासन र जवाफदेहितातर्फ उठाएका कदमहरू पनि प्रधानमन्त्रीले प्रस्तुत गरिन् । विदेशमा बस्ने नेपालीहरुलाई मतदानमा सहभागी गराउन सकिने सम्भावनाका बारेमा पनि छलफल भइरहेको सो अवसरमा प्रधानमन्त्री कार्कीले बताइन् । लोकतान्त्रिक व्यवस्थालाई अझ थप बलियो बनाउन रचनात्मक तरिकाले लाग्न जेन जेड समूहलाई अनुरोध गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई समेत जेन जेड समूहको भावनालाई बुझ्न अनुरोध गरिन् ।


मुलुकमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताउँदै प्रधानमन्त्री कार्कीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरिएको पनि सो अवसरमा जानकारी दिइन् । साथै, हालै भएको विध्वंसनात्मक घटनाका विषयमा छानबिन गर्न आयोग गठन गरर काम भइरहको पनि उनले जानकारी गराइन् ।


उनले आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी चौकीमध्ये धेरै ठाउँमा स्थानीय आफैँले मर्मत गर्न थालिसकेको तथा हराएका वा चोरी भएका हतियार तथा उपकरण पुनःप्राप्त गर्न पनि तदारुकतासाथ काम भइरहेको जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले ‘जेनजी’ आन्दोलनले सबैलाई सुन्ने, प्रतिक्रिया दिने, सुधार गर्ने र परिणाम दिने सामूहिक जिम्मेवारीको गहिरो ढङ्गबाट बोध गराएको उल्लेख गर्दै यसले सुशासन, आर्थिक अवसर र सार्वजनिक जीवनमा इमानदारीका लागि जनताको आकाङ्क्षालाई झल्काउने बताइन् । यस आन्दोलनले सबैलाई ढिलो नगरी जनअपेक्षाअनुसार परिणाम दिन प्रेरित गरेको उनको भनाइ थियो ।

वर्तमान सरकार गठन भएको करिब एक महिनाको यसअवधिमा राज्यसंयन्त्रभित्रका भ्रष्टाचार, कुशासन र चुनौती मात्र होइन, सुधारको विशाल सम्भावनासमेत पत्ता लगाएको उल्लेख गर्दै उनले यो नै विश्वास पुनःस्थापना गर्ने, संस्थाहरू सुदृढ पार्ने र शासन व्यवस्थालाई पारदर्शिता र सेवामुखी दिशातर्फ डो¥याउने उपयुक्त क्षण भएको स्पष्ट पारिन् । यो आन्दोलन पारदर्शिता र जवाफदेहिताको मागमा आधारित रहेको उनको भनाइ थियो ।