कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय

Vehicles are parked next to a building damaged following a deadly fire, in Mangaf, southern Kuwait, June 12, 2024. REUTERS/Stringer

काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएको छन् ।

मृतकहरु २० देखि ५० वर्ष उमेर समूहका छन् । भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह आज कुवेत जान लागेका छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ । आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।

कुवेतका मिडियाहरुका अनुसार ६ तले भवनमा बुधबार बिहान स्थानीय समय अनुसार ६ बजे आगलागी भएको थियो । सो भवनलाई एक स्थानीय कम्पनीले श्रमिक क्याम्पको रुपमा प्रयोग गर्दै आएको थियो । त्यहाँ करिब २ सय प्रवासी कामदारहरुलाई राखिएको थियो । यद्यपि सो भवनको क्षमता भने त्योभन्दा कम रहेको बताइएको छ । सो भवनमा नेपाली कामदारहरु पनि थिए । आगलागीमा परी ५ जना नेपालीहरु घाइते भएको प्रारम्भिक सूचना छ । आगलागीको कारण खुलेको छैन । कुवेत सरकारले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान थालेको जनाएको छ ।