एजेन्सी
१० जेठ, काठमाडौं । केन्याको राजधानी नैरोबीको एक अनौपचारिक बस्तीमा शनिबार आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार बिहान ५ बजेतिर शहरको माकिना क्षेत्रमा आगलागी सुरु भएको प्रहरी अधिकारी पेट्रिसिया येगोनले जानकारी दिए । उनले भने, “आगलागीमा आठ जनाको जलेर मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
घाइतेहरूलाई बिभिन्न स्थानमा राखी उपचार भइरहेकोले घाइते हुने व्यक्तिको स्पष्ट सङ्ख्या अझै सङ्कलन भइरहेको छ ।” आगलागी कसरी सुरू भयो यसबारे कारण खुल्न सकेको छैन । राजधानीका भीडभाड र विपन्न अनौपचारिक बस्तीहरूमा बारम्बार डढेलो लाग्ने गर्छ । केन्याली रेडक्रसका अनुसार स्थानीय समुदायको सहयोगमा अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिनुअघि ४० घर प्रभावित भएका थिए।