केन्यालाई नेपालले हरायो

काठमाडौं । केन्यालाई नेपालले हराएको छ । पहिलो टी–२० अन्तर्राष्ट्रियमा नेपाल ५ विकेटले विजयी भएको हो । नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै पूरा गरेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १–० को अग्रता लिएको छ । भिसा समस्याका कारण नेपाली टोली चार चरणमा गरेर केन्या गएका थिए ।

दोस्रो चरणमा गएका सोमपाल कामी र विवेक यादव तथा तेस्रो चरणमा गएका आदिल आलमले केन्या विरुद्ध पहिलो खेल खेल्न भ्याए । आजको खेलमा ६ महिनापछि ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिममा पुनरागमन गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३१ रन बनाउँदा आसिफ शेख र ज्ञानेन्द्र मल्लले १९÷१९ रन जोडे । उपकप्तान रोहित पौडेलले १५ रन जोडे । आरिफ शेखले अविजित २१ रन बनाए ।

नैरोबीस्थित जिमखान क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले ८ विकेट गुमाएर १३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालका लागि सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।