काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थापित नेपाल कम्युनिष्ट पार्टी एमालेका काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुन् ।
स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको विषयमा अभिव्यक्ति दिएको विषय सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हो । यसअघि आयोगले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि गरेको टिप्पणीका विषयमा पनि प्रष्टीकरण सोधेको थियो ।
१५ वैशाखमा काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । त्यस्तै स्थापितले बालेन शाहले ‘केशव स्थापितलाई जिताऔं, बालेनलाई भोट हालौं’ भनेर प्रचार गरेको पनि आरोप लगाएका थिए । निर्वाचन आयोगले हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।