काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले यही वैशाख १५ गते धुम्रबाराहीस्थित नेशनल कलेजमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रममा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।
स्थापितबारे जारी भएको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेकाले सो सम्बन्धमा स्पष्ट पार्न महिला पुनःस्थापना केन्द्र (ओरेक) लाई आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले उक्त संस्थाको प्रेस विज्ञप्तिलाई सार्वजनिक माध्यमबाट यथाशिघ्र हटाई प्रमाणसहित २४ घण्टाभित्र स्पष्टीकरण सोध्न वैशाख १८ गते ओरेकलाई निर्देशन दिएको हो ।
आयोगले ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेलाई स्पष्टीकरण सोध्दै निर्वाचन आचारसंहिताको दफा ११ को खण्ड (ख) मा गैरसरकारी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी र कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने समेतको व्यवस्था रहेकोमा उम्मेदवार स्थापित उम्मेदवार बन्न लायक छैनन् भन्ने प्रेस विज्ञप्तिमा समावेश भएकाले स्थापितको संवैधानिक र कानूनी हकको उल्लङ्घन हुन्छ, हुँदैन र? भनी स्पष्टीकरण सोधेको छ ।
आयोगले यही वैशाख १५ गते काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रमसम्बन्धी विस्तृत विवरण माग गरी नेशनल कलेजलाई पनि पत्र पठाएको छ ।