के प्रचण्डको कुर्सी हल्लिएकै हो ?

काठमाडौं । सत्ता समीकरणमा उथलपुथल हुने चर्चाले सोमबार राजनीतिक वृत्तमा ठूलै हलचल ल्यायो । तर, सत्तारुढ घटकका शीर्ष नेताले भने यसको खण्डन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को सोमबार सिंहदबारमा बसेको बैठकमा उनले समीकरण भत्किने हल्लामा सत्यता नभएको बताए । उनले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे ।

सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा तीन घण्टा लामो छलफल गरेपछि बसेको मन्त्रिपरिषद् बैठकमा दाहालले सरकार केही नहुने दाबी गरे । माओवादी उपमहासचिव एबं उर्जामन्त्री शक्ति बस्नेतले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले समीकरण फेरिने चर्चाबारे उल्लेख गर्दै हाल त्यस्तो केही नहुने बताएको जानकारी गराए ।

दाहालले सोमबार बेलुका माओवादीका केही पदाधिकारीसँग भएको भेटमा कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भए पनि तत्काल स्वीकार नगरेको आफूलाई बताएको जानकारी दिएका थिए । ‘कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बालकोट निवासमा ओलीसँग भेटवार्ता गरेका थिए । त्यही वार्तामा उनले ओलीलाई ‘राष्ट्रि सहमतिको सरकार बनाउने’ भन्दै प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।

ओली र दाहालबीच दरी बढ्नुको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विवाद, संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकमा देखिएको बिवाद हो । एउटै सत्ता समीकरणमा भए पनि विधेकमा पीडित केन्द्रित प्रावधानमा परिभाषा के हुने, गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई कुन हदसम्मको कारबाही हुने ? पीडितले मेलमिलाप गर्न नचाहे के गर्ने लगायत विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन ।

टीआरसी विधेयकका यी विषयमा बिहीबार एमाले र माओवादी नेताबीच चर्काचर्की भएको थियो । कांग्रेसका नेताले सत्तारुढ दल एमाले र माओवादीबीच सहमति नभएकाले विधेयक संसदमा रोकिएको आरोप लगाएपछि यी दुई दलका नेताबीच असहज अवस्था आएको बताइएको छ । मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताइन् ।