के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?

EPA\BBC

काठमाडौं । भारतले म्यानमारसँगको खुला सीमाामा तारबार लगाउने योजना बनाइरहेको विवरण सार्वजनिक भएको छ । गृहमन्त्री अमित शाहले केही साताअघि छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा हुन् । भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई “बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी” सुरक्षित बनाउने उनको भनाइ छ ।

भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना लामो सीमा छ। शाहले भारत र म्यान्मारको सीमावर्ती क्षेत्रका मानिसहरूलाई भिसाबिनै एकअर्काको देशमा १६ किलोमिटरसम्म यात्रा गर्न अनुमति दिने एउटा पुरानो सम्झौता खारेज गर्ने विषयमा पनि विचार भइरहेको बताएका छन् । छेकबार कसरी र कहिले लगाउने भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

तर सीमामा छेकबार लगाउने काम निकै चुनौतीपूर्ण हुने छ। केही विज्ञहरूका अनुसार पहाडी भूभागमा छेकबार लगाउन असम्भवप्रायः छ। दिल्लीको योजनाका कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूबीच कायम पुरानो सन्तुलन बिग्रिन अनि दुई देशबीच तनाव बढ्न सक्छ। म्यान्मारसँग पूर्वोत्तर भारतका अरुणाचल, नागाल्यान्ड, मणिपुर र मिजोरम गरी चारवटा राज्यको सीमा जोडिएको छ।


पहिलो, सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूपछि म्यान्मारमा बढेको द्वन्द्वका कारण भारतलाई हानि हुने जोखिम बढेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण म्यान्मारबाट झन्डै २० लाख मानिस विस्थापित भएका छन्। म्यान्मारसँग ४०० किलोमिटर लामो सीमा जोडिएको मणिपुरमा गत वर्ष सुरु भएको साम्प्रदायिक हिंसाका कारण समेत भारत यसतर्फ सोचिरहेको बताइन्छ ।

बहुसङ्ख्यक मैतेई समुदायलाई पनि अनुसूचित जातिमा राख्न अदालतले सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा जनजाति समुदायहरू आन्दोलित हुँदा हिंसा सुरु भएको थियो । बहुसङ्ख्यक मैतेई र आदिवासी कुकी अल्पसङ्ख्यक समुदायबीच झडपमा १७० जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ मानिस विस्थापित भएका छन्।