धुलिखेल । नेपालमा तीन वटै तहको निर्वाचन नजिकिएको छ । यसको तयारी समेत जोडतोडले गरिएको छ । सम्भवतः एक वर्ष भित्र तीन वटै तहको निर्वाचन भइसक्छ । यो निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत भोट हाल्न पाउने व्यवस्था गर्न तयारी शुरु भएको छ । सो निर्वाचनमा विद्युतीय मतदानमार्फत विदेशमा रहेका नेपालीलाई) सहभागी गराउने तयारी भइरहेको निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी गराएका छन् ।
निर्वाचन आयोगले धुलिखेलमा आयोजना गरेको कार्यशालामा बोल्दै उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालिएको समेत बताए । यसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्न सम्भव हुने छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक रहेको अनुमान छ । यस पटक जनगणनामा समेत विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत संकलन गरिएको थियो ।