कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान

File

धनगढी । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेसँगै सतर्क रहन प्रशासनले आह्वान गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह ३ दशमलव ६ मिटर पुगेपछि खतरा मानिदै आएकोमा सोमबार बिहानसम्म बढेर ३ दशमलव १५ मिटर पुगेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटिया लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ८ बजेसम्मै सतर्क रहन विभागले जनाएको छ ।