कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ

काठमाडौं । एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन् । उनीहरुलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरुले इथियोपियामा पुगी निलेर काठमाडौं आएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । बरामद लागूऔषधको अन्दाजी बजार मूल्य ४ करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ ।