काठमाडौं । जलवायुसम्बन्धी सम्मेलनको २७औँ संस्करण आजबाट इजिप्टमा सुरु हुने भएको छ । कोप–२७ सम्मेलन इजिप्टको सार्म एल–शेख सहरमा हुँदैछ । सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले उल्लेख गरेको छ ।
नोभेम्बर १८ अर्थात् २ मङ्सिरसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषयमा चर्चा गरिँदैछ । सम्मेलनले जलवायु परिवर्तन, मरुभूमीकरण र पानीको अभावले बढ्दै गएको खाद्य सुरक्षा सङ्कटलगायतका विषय प्राथमिकताका साथ उठाउने छ ।
सम्मेलनमा नेपालले हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउनेछ । सम्मेलनमा प्रस्तुत गर्न अवधारणपत्र तयार गरेको र त्यसमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका उल्लेख गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. बुद्धिसागर पौडेलले बताएका छन् । कोप–२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ ।
विश्वका उस्तै समस्या भएका पर्वतीय देशहरुसँग सहकार्य रणनीति बनाउन नेपालले गएको सेप्टेम्बरमा मुस्ताङ पैरवी सम्मेलन आयोजना गरी विशेष घोषणापत्र जारी गरेको थियो ।
यस्तै, नेपालले जलवायु कोषहरूमा नेपालको सरल तथा सहज पहुँच हुनुपर्ने र नेपालले अनुकूलन, उत्थानशीलता तथा हरित विकासको अवधारणा प्रवर्द्धनमा प्रदान गरिने वित्त अनुदानको रूपमा आउनुपर्ने निश्चितताबारे पनि पैरवी गर्नेछ । सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने विषयमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने अपेक्षा गरिएको छ ।