काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका मानिसहरुको ज्यान जोखिममा परेको यस समय निर्माण हुने खोप विश्वव्यापी सर्वसुलभ उपलब्धताको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । कोभिड १९ का कारण सम्पूर्ण मानव समुदाय नै संकटमा परेको समय जीवन रक्षाका खोप अधिकतम नाफाका माध्यम हुन नसक्ने समेत उनले बताए ।
कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई भिडियो सम्बोधन गरेका प्रधानमन्त्रीले यस्तो खोप गरिबी र अतिकमविकसित मुलुकमा समेत सहजै उपलब्ध हुनुपर्ने विषयलाई महत्वका साथ उठाएका छन् ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने भन्दै जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धतामा जोड दिए । प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने उल्लेख गरे
अहिले विश्वमा सबैको पहुँचमा खोप पुर्याउन भइरहेको प्रयास सह्रानिय रहेको समेत उनको भनाई छ । कोरोना भाइरस र यसले पारेको प्रभाव साथै त्यसको न्यूनिकरणका उपाय सम्बन्धमा संयुक्त राष्ट्रसंघले विशेष महासभा बोलाएको हो ।