काठमाडौं । नेपालले कोभ्याक्स कार्यक्रमबाट पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप प्राप्त गर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने सम्भावना छ । यो खोपले नेपालको जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पुग्ने भएको छ ।
खोप सन् २०२१ को पहिलो छ महिना भित्र प्राप्त हुने प्रक्षेपण गरिएको छ । सबै देशमा समानरूपमा कोरोना खोप उपलब्ध गराउने लक्ष्यसहित विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र खोपबारे पैरवी गर्ने अन्य समूहले सन् २०२० को अप्रिलमा कोभ्याक्स अभियान घोषणा गरेका हुन् ।
कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य छ । नेपालले अनुदानमा पाउने मध्ये यो सबैभन्दा ठूलो संख्या हुनेछ । यसबाहेकको खोप भने मुलुक स्वयमःले खरीद गर्नुपर्छ ।