कोरानाबाट बुटवलमा तीन र तिलोत्तमामा एकको मृत्यु

बुटवल । कोरोना भाइरसको संक्रमणबाट रुपन्देही जिल्लामा थप चार जनाको ज्यान गएको छ । यसमध्ये बुटवल उपमहानगरपालिकामा नीन जनाको ज्यान गएको छ । एकजना तिलोत्तमा नगरपालिकाका छन् । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा ज्यान गएको प्रहरीे जानकारी दिएको छ ।

बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल अथवा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजाने गरी रिफर भएको थियो । तर, उनको बाटोमै ज्यान गएको हो । उता, बुटवल ११ की ६१ वर्षीया महिलाको समेत उपचारका क्रममा कोरोना विशेष अस्पताल बुटवलमा ज्यान गएको अस्पतालले जनाएको छ ।

उनको समेत आइतबार बिहान २ बजे ज्यान गएको हो उनीहरु दुबै जना दीर्घरोगबाट पिडित थिए । यता, बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।उनी शनिबार अस्पताल भर्ना भएका थिए ।

असोज २२ मा कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो । यता, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ ।

यो अस्पतालमा निधन हुने पहिलो बिरामी हुन् । उनलाई समेत बुटवलमा आईसीयू बेड नभएपछि दाङ लगिएको थियो ।